अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप

प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप


कैलाली-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो।

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । मतदानस्थल भने साविककै २३७ वटा रहेको उहाँले जानकारी दिनुभयो।

मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्र थप भएको उहाँको भनाइ छ। जिल्लामा यस वर्ष १६ हजार ७०८ आठ मतदाता थपिएका कार्यालय प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उहाँले बताउनुभयो। जसमध्ये, दुई लाख ८० हजार २४३ महिला, दुई लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य मतदाता रहेका छन्।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र-१ मा एक लाख आठ हजार ४९१, क्षेत्र-२ मा एक लाख सात हजार ७५७, क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२, क्षेत्र नं ४ मा एक लाख १५ हजार १४३ र क्षेत्र नं ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिनुभयो।