काठमाडौं-नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले विदेशी सम्बन्धनका कलेजमा बेथिति रोक्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ध्यानाकर्षण गराएको छ।
अखिल अध्यक्ष दीपक धामी नेतृत्वको टोलीले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालनमा रहेका कलेजहरूसँगको सरोकारका विषयमा शिक्षामन्त्री पुनलाई भेटेर १५ बुँदे मागसहितको ज्ञापन पत्र पेश गरेको हो ।
ज्ञापनपत्रमा विदेशी कलेजहरूले नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेको, विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको र प्रचलित मापदण्ड विपरीत सञ्चालन भइरहेको जिकिर गरिएको छ।
द ब्रिटिश कलेजलगायतका अन्यायनमा परेका विद्यार्थीहरूसमेतको न्यायका लागि संगठनले सरकारको ध्यानाकर्षण गराएको धामीले बताउनुभयाे । १०+२ पछि ‘फाउन्डेसन कोर्स’ का नाममा विद्यार्थीमाथि थप समय र आर्थिक भार थपिएको भन्दै यसलाई तत्काल बन्द गर्न अखिलको माग छ ।
कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य निःशुल्क छात्रवृत्ति दिनुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली कलेजको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने पनि माग गरिएको छ ।
संगठनका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी पनि अखिलले दिएको छ।








प्रतिक्रिया