गण्डकी-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् ।
स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता कायम भएका छन् ।
यस्तै लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेको उहाँले बताउनुभयो । प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ ।
गोरखामा २२५, स्याङ्जामा १९९, कास्कीमा १५३, तनहुँमा १४४, लमजुङमा १३०, नवलपुरमा ११४, बागलुङमा १०७, म्याग्दीमा ८२, पर्वतमा ७६, मुस्ताङमा ३९ र मनाङमा २८ मतदानस्थल रहेका छन् । विसं २०८२ फागुन २० गतेभित्र १८ वर्ष पुगेकाले मतदान गर्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बायोमेट्रिय विधि र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता गरिएको थियो ।
गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् ।





प्रतिक्रिया