काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाल अहिले भूराजनीतिको शिकार भएको बताउनुभएको छ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष थापाले बङ्गलादेश र श्रीलङ्काको उदाहरण दिँदै यस्तो बताउनुभएको हो।
उपाध्यक्ष थापाले निर्वाचित सरकारमा दुई तिहाइको समर्थन रहँदा रहँदै सरकार अपदस्थ गरिएको र सदन विघटन गरिएको भन्दै त्यो अधिकार कसैलाई पनि नभएको दाबी गर्नुभयाे ।
त्यस्तै षड्यन्त्र अन्तर्गत नै ५० सालमा मदनआश्रितको हत्या भएको भन्दै त्यसको तीन दशकपछि भदौ २३ र २४ मा भएको घटना घटाइएको उपाध्यक्ष बादललेदाबी गर्नुभयाे ।
‘भदौ २३ र २४ को घटना क्रान्ति थियो वा प्रतिक्रान्ति थियो ?’, प्रश्न गर्दै उपाध्यक्ष थापाले यसको जवाफ दिनुपर्ने बताउनुभयाे । उहाँले उक्त घटना प्रतिक्रान्ति भएको भन्दै यसले असाधारण सङ्कट थपेको बताउनुभयाे ।
‘नेपाल कुनै पनि देशको गुलाम भएन, शासन गर्न पाएन’, उपाध्यक्ष थापाले भन्नुभयाे, ‘आज प्रश्न उठेको छ नेपाल कतै युक्रेन र सिक्किम त हुने होइन ?यसमा सोच्न जरुरी छ।’

उपाध्यक्ष बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने पनि धारणा राख्नुभयाे।
उपाध्यक्ष बादलले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गर्नुभयाे ।
‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ’ उपाध्यक्ष बादलले भन्नुभयाे, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ।’
उपाध्यक्ष थापाले संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गर्नुभयाे ।
‘नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद लाई पुनःस्थापना गरेर होस्। यो दुई वटा बोटाबाट हामी अगाडि बढ्नसक्छौँ ‘ उपाध्यक्ष थापाले भन्नुभयाे, ‘नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चस्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ ।’
अदालतको बाटो वा सडकको बाटोबाट विघटित संसद पुनस्थापना गर्ने फागुन २१ समस्मको समय रहेको उपाध्यक्ष थापाले बताउनुभयाे । ‘आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गइरहेको छ, त्यो नहुन पनि सक्छ। यदि उनीहरुले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन्,’उहाँले भन्नुभयाे ।






प्रतिक्रिया