काठमाडौं-नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ। नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी आठौं पूर्ण बैठकमा बोल्दै सचिव भट्टराईले संविधानका धाराहरु मिचिएको उल्लेख गर्दै प्रतिकूलतातिर गइरहेको देशलाई अनुकूलतातर्फ ल्याउनुपर्ने अवस्था आएको बताउनुभएको हो।
देशलाई सहज बाटोतर्फ लैजान अहिलेको अवस्थामा संसद पुनर्स्थापना नै उचित विकल्प भएको उहाँको भनाइ छ। जनताले त्याग, तपस्या र बलिदान गरेर बनाएको संविधानलाई मास्न नदिने संसद पुनर्स्थापना गर्नुपर्ने सचिव भट्टराईले बताउनुभयो।
प्रधानमन्त्रीको नियुक्ति र संसद विघटन संविधानको धारा मिचेर गरिएको उहाँले बताउनुभयो। त्यसैले संसद पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार बनाएर जेनजीका जायज माग पूरा गर्न सकिने सचिव भट्टराईले बताउनुभयो।
सर्वपक्षीय सरकारले संविधान संशोधन गर्न सकिने र त्यसपछि निर्वाचनमा जान सकिने एमालेको ठहर रहेको सचिव भट्टराईले बताउनुभयो। यसो गर्न सके लोकतन्त्र र संविधान जोगिने उहाँको भनाइ छ।
निर्वाचनका कार्यक्रमतर्फ पनि एमाले संलग्न भएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले एमालेको आफ्नो मान्यतामा अडिग रहे पनि निर्वाचन बहिष्कार गर्न नहुने भएकाले सोहीअनुसार अघि बढेको बताउनुभयो।
एमालेले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचि निर्वाचन आयोगमा बुझाइसकेको छ भने पुष २० गतेभित्र प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिइसकेको छ।
भदौ २३ र २४ गते भएको ध्वंश, अपराध, हत्याको विपक्षमा एमाले रहेको उहाँले स्पष्ट पार्नुभयो। वास्तविक जेनजीले उठाएका माग ठीक भएको र उनीहरुको शान्तिपूर्ण आन्दोलनप्रति भने एमालेको समर्थन रहेको उहाँले प्रष्ट्याउनुभयो। तर शान्तिपूर्ण प्रदर्शनको नाममा निषेधित क्षेत्र तोडेर आगजनी, तोडफोड, कुटपिट र आक्रमण भने अपराधिक गतिविधि भएको उनले दोहोर्याउनुभयो।
जेनजी आन्दोलनमा भएको विध्वंशकारी गतिविधि गलत छ भनेर एमाले काठमाडौं महानगरपालिका कमिटीले खेलेको भूमिकाको भट्टराईले प्रशंसा गर्नुभयो।
महाधिवेशनका बेला भक्तपुरको सल्लाघारीमा पनि एमालेले प्रतिगमतका विरुद्ध, संविधानको सुरक्षा र लोकतन्त्रका लागि एमाले प्रतिबद्ध भनेर सन्देश दिन सफल भएको बताउनुभयो। देशमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि एमालेले सन्देश दिन सफल भएको उहाँको जिकिर छ ।
कार्यक्रममा महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठ, इन्चार्ज तेजप्रसाद ढकाल, उपसचिव सृजना भट्टराईको सहभागि थियो । त्यसैगरी एमालेका केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, विणा श्रेष्ठ, रमेश बडाल, डा. अजयक्रान्त्रि शाक्य, रत्न गुरुङ, विन्दु श्रेष्ठ र सुनिता डंगाले पनि सहभागि थिए।
कार्यक्रममा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित नेताहरुलाई बधाई, सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो।





प्रतिक्रिया