काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको निजी निवास गुण्डुमा पुगेर किराँत धर्म तथा साहित्य उत्थान संघका पूर्व अध्यक्ष तथा किरात ज्योतिष उत्थान संघका संस्थापक अध्यक्ष गुरु डा. चन्द्रकुमार सेर्माले पुनः अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
गुरु डा. सेर्माले बधाईसँगै गुरु आशीर्वाद प्रदान गर्दै वर्तमान मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि केपी शर्मा ओलीले एक पटक पुनः मुलुकको प्रधानमन्त्री भएर सेवा गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले मुलुकको स्थायित्व, सुशासन र राष्ट्रिय हितका लागि ओलीको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै आजीवन राजनीतिक रूपमा साथ र समर्थन रहने प्रतिबद्धता समेत जनाउनुभयो।
भेटका क्रममा गुरु डा. सेर्माले ओलीको राजनीतिक योगदान, राष्ट्रिय स्वाधीनता, विकास र स्थायित्वका पक्षमा उहाँले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। उहाँले विशेष गरी कठिन राजनीतिक परिस्थितिमा समेत दृढ नेतृत्व प्रस्तुत गरेको भन्दै भविष्यमा पनि मुलुकले ओलीको अनुभव र नेतृत्वबाट लाभ लिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेकपा एमाले पाँचथर जिल्ला कमिटी सचिवालय सदस्य मुक्ति आचार्य, जिल्ला कमिटी सदस्य भीम सम्बाहाम्फे र देवेन्द्र चौलागाईं, कोसी प्रदेश सम्पर्क कमिटी सदस्य आनन्द कोइराला तथा पाँचथर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिनेश खतिवडा पनि उपस्थित हुनुन्थ्यो ।
उपस्थित नेताहरूले पनि ओलीको पुनः अध्यक्षमा निर्वाचित हुनु पार्टी मात्र नभई राष्ट्रिय राजनीतिका लागि समेत महत्त्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।
भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने राजनीतिक समसामयिक विषय, मुलुकको अवस्था तथा भावी दिशा सम्बन्धी संक्षिप्त छलफलसमेत भएको जनाइएको छ।





प्रतिक्रिया