अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु


काठमाडौं-निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो।

‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको हेर्ने हो । यसरी हेर्न सुरु गरिएको छ’ प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ। प्रवक्ता भट्टराई भन्नुहुन्छ, ‘अध्ययनपश्चात २० गते नै हामी दलहरूलाई के–के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरूले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ।’

आयोगले क्लस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ। त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन्।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन्। कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।