सुनसरी-सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएसँगै तनाव भएको छ। सशस्त्र प्रहरीको गोली लागेर कोशी गाउँपालिका-१ का स्थानीय ४५ वर्षिय विजय साहकाे मृत्यु भएको हो।
गोली लागेरसाहकाे मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन्।
बिहीबार बिहानको राति १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।
घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताए । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाइ छ ।
स्थानीयले मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रर्दशन गरेका छन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । प्रहरीले भीड तितरवितर पार्न केहि राउण्ड हवाई फायर समेत गर्नु परेको छ । गोली हान्ने व्यक्तिलाई कार्वाहीको माग गर्दै स्थानीयले प्रर्दशन चर्काएपछि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।





प्रतिक्रिया