काठमाडौं-राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताउनुभयाे ।

‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उहाँले भन्नुभयाे, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं।’
उहाँले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिनुभयाे । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उहाँको भनाइ छ।
प्रसाईंले प्रधानमन्त्रीसँगको भेटमा जनमत सङ्ग्रह गर्न पनि आफूले प्रस्ताव गरेको बताउनुभयाे। ‘जनमत सङ्ग्रहमा जाऔँ भन्दा दुई तिहाइले जितेपछि मात्रै जान सकिन्छ भन्नुभयो’, प्रसाईंले भन्नुभयाे, ‘मैले तपाईं जुन बाटोमा प्रधानमन्त्री बन्नुभयो त्यही बाटोबाट जनमत सङ्ग्रह गर्न सकिन्छ भनेर सुझाव दिएको छु ।’
सरकारका प्रवक्ता जगदीश खरेलले प्रसाईसँगको वार्ता सकारात्मक भएको भन्दै अहिलेको सरकारले पुरा गर्न सक्ने माग पुरा गर्न पहल गर्ने र बाँकी चुनाव पछिको सरकारले गर्ने बताए । भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए । यसअघि पनि प्रसाईंले आफ्नो समूहले गत मङ्सिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।





प्रतिक्रिया