सुनसरी-सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि प्रशासन र स्थानीय प्रतिनिधिबीच ५ बुँदे सहमति भएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ।
उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरवाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पत्रमा उल्लेख छ।

सहमतिमा के छ ?
सहमतिमा घटनाको छानबिन गरी राहतका लागि सिफारिस गर्ने र पीडित परिवारलाई रोजगारीको ज्ञारेन्टी गर्ने लगायत बुँदा समावेश छन् ।
१. छानबिन समिति गठन : घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
२. क्षतिपूर्तिको सिफारिस : छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।
३. रोजगारीको व्यवस्था : मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने सहमति भएको छ ।
४. छोरालाई सशस्त्र भर्नामा सहयोग : मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको छ ।
५. शव व्यवस्थापन : सहमति भएसँगै मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ । सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।







प्रतिक्रिया