काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राख्नुभएकाे थियाे। उहाँहरूले असहमति जनाएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतबाट कार्यवाहक सभापति खड्काले राखेको संशोधन प्रस्ताव पारित गरेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख अन्तिममा नियमित महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे।यअसघि कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको थियो। तोकिएको समयमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याइएको हो।
अब आउँदो चैत २१ मा वडा अधिवेशन गरिनेछ। त्यस्तै, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गते हुनेछ।
त्यसपछि चैत २८ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, आउँदो वैशाख २ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन हुनेछ।
यसैगरी, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लामा वैशाख ५ गते जिल्ला अधिवेशन हुनेछ। प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म ताकिएको छ।





प्रतिक्रिया