अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने



काठमाडौं-खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन्। यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ।

सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ। बैंकलाई वालेटदेखि एटिएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ। सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रुपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ। 

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटिएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताउनुभयाे। ‘नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रुपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो’, उहाँले भन्नुभयाे, ‘नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ। नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रुपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ।’

खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण प्रयास भएको बताउनुभयाे। ‘यस सम्झौताले बैंकको ठूलो सञ्जालमा एप प्रयोगकर्ताहरुको पहुँच सहज रुपमा स्थापित गर्न सहयोग पुग्नेछ, हामी हाम्रा वित्तीय कारोबारलाई छिटो, सजिलो र अन्तरनिहीत रुपमा सुरक्षित बनाउने योजनाअनुसार सम्झौता भएको हो।’

यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ। बैंकका अनुसार यो सुविधा लिनका लागि खल्ती वालेटका प्रयोगकर्ताले सबैभन्दा पहिले खल्ती वालेटमा भएको कार्र्डलेस विथड्रलमा रहेको नबिल कार्डलेस विथड्रलमा गएर आफूले निकाल्न चाहेको रकम भर्नुपर्नेछ। त्यसपछि उक्त विवरण पुष्टि गरेपछि प्रयोगकर्ताले मोबाइलमा ओटिपी नम्बर प्राप्त गर्नेछन्। 

त्यसपछि प्रयोगकर्ताले बैंकको एटिएम स्क्रिनमा रहेको कार्डलेस विथड्रलमा जानुपर्नेछ। त्यसमा रहेको वालेट अप्सनमा मोबाइल नम्बर राख्नुपर्नेछ। साथै मोबाइलमा प्राप्त ओटिपी राखेपछि आफूले वालेटमा प्रविष्ट गरेको रकम एटिएम स्क्रिनमा प्रविष्ट गरेपछि नगद निकाल्न सकिनेछ। 

यो सुविधा जुनसकै समयमा पनि उपलब्ध हुनेछ। विशेष गरी एटिएम कार्ड नभएको अवस्थामा सहज रुपमा नगद निकाल्नका लागि यो उत्तम विकल्प हुने बैंकले जनाएको छ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ।