दैलेख – नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका छन् । सो क्षेत्रमा चारजना पुरुष आकांक्षीहरुमा सहमती कायम हुन नसकेपछि भएको आन्तरिक निर्वाचनमा रिजालले ६७ मत सहित पहिलो नम्बरमा सिफारिस भएको क्षेत्रीय कमिटीले जनाएको छ ।
यस अघि दुईवटा संघीय निर्वाचनमा पनि उम्मेद्वार हुने प्रयास गरेका रिजाललाई यसपाली पार्टी कार्यकर्ताहरुले एक नम्बरमा सिफारिस गरेर पठाएका छन् ।
रिजालसँगै अर्का केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढाले दाबी गरेका थिए । सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा ६७ मत सहित रिजाल पहिलो ६६ मत सहित पोखरेल दोस्रो ६१ मत सहित शाही तेस्रो र ५१ मत सहित बुढा चौथो स्थानमा आएको क्षेत्रीय कमिटी अध्यक्ष कुमार विक्रम शाहीले जानकारी दिए ।
हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा कर्णालीको भूगोलबाट केन्द्रीय सदस्य भएका रिजाल पार्टीको पक्षमा आम सञ्चार माध्यममा निरन्तर मुखर हुने नेता हुन् । यस अघि पार्टीको गैह्र भौगोलिक क्षेत्रका विभिन्न जिम्मेवारी बहन गरेका रिजालले अब पार्टीको भौगोलिक यात्रासँगै संसदीय यात्राको सुरुवात गर्ने तयारी गर्दै आएका छन् ।





प्रतिक्रिया