ताप्लेजुङ – नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद् पुनर्स्थापना सहितका संवैधानिक प्रक्रियाका विषयको मुद्दाको छिटो निरूपण जरुरी भएको बताउनुभएको छ। संवैधानिक विषयको निरूपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना सहितका संवैधानिक प्रक्रियाका विषयको निरूपणमा गरेको ढिलाइप्रति संशय व्यक्त गर्नुभयो ।
एमालेको ११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका भट्टराईले प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान र लोकतन्त्र पुनर्स्थापित गर्न एमालेले संसद् पुनर्स्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताउनुभयो। संविधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उहाँले अदालतले संसद् पुनर्स्थापनाका सम्बन्धमा परेको मुद्दाको शीघ्र निरूपण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । संसद् पुनर्स्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उहाँको भनाई थियो।
हरेक संस्थागत सङ्गठनमा लोकतन्त्रको अभ्यास हुँदा एक पक्ष जित्ने र अर्को पक्ष हार्ने भए पनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरूको आकाङ्क्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने उपमहासचिव भट्टराईको भनाई छ।
उपमहासचिव भट्टराईले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भए पनि सर्वसम्मत रूपमा एक जना एमालेका उम्मेदवार हुने अरू कमान्डर भई पार्टीलाई जिताउनु पर्ने बताउनुभयो। पहिले पार्टी, दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उहाँको भनाई थियो ।
कार्यक्रममा सँगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाउनुभयो । थेबेले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भए पनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार,सर्बोच्च अदालत,संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताउनुभयो । ननयुवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने दाबी गर्नुभयो।
भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताउनुभयो ।
एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिनुभयो ।





प्रतिक्रिया