जनकपुरधाम-नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार निर्वाचन गराउने पक्षमा नरहेको दाबी गर्नुभएको छ ।
पुस २० गते आइतबार जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव महासेठले यस्तो बताउनु भएको हो।
उपमहासचिव महासेठले सरकारले नैतिकताविपरीत सत्ता सञ्चालन गरिरहेको आरोप लगाउनुभयो। उहाँले अवस्थामा निष्पक्ष चुनाव हुनेमा गम्भीर शङ्का व्यक्त गर्नुभयो।
उपमहासचिव महासेठले भन्नुभयो, ‘सरकारमा बसेर खुल्लमखुल्ला गठबन्धन गर्ने, सिट बाँडफाँट गर्ने र को प्रधानमन्त्री बन्ने भन्ने जस्ता अराजनीतिक गतिविधि भइरहेका छन्। राजनीति नै गर्नुछ भने सरकारबाट राजीनामा दिनुपर्छ, होइन भने प्रधानमन्त्रीले त्यस्ता व्यक्तिहरूलाई बर्खास्त गर्नुपर्छ। त्यसो भए मात्र अन्य राजनीतिक दल र नेपाली जनताले चुनाव हुनेमा विश्वास गर्छन्।’
जेनजी आन्दोलनको सन्दर्भमा उपमहासचिव महासेठले नेकपा एमालेका १५८ वटा घरमा आगजनी गरिएको समेत स्मरण गराउनु भयो । साथै उहाँले नेपाली कांग्रेसका घरहरूमा पनि आगजनी भएको बताउनुभयो।
उपमहासचिव महासेठले ती घटनामा एमालेका प्रतिस्पर्धी दलका कार्यकर्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाउनुभयो । नख्खुस्थित जेल ब्रेकको घटनामा समेत तिनै दलका कार्यकर्ताको संलग्नता रहेको उहाँको भनाइ थियो ।





प्रतिक्रिया