काठमाडौँ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ। पुस १३ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले २०८२ पुस २० गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका निर्वाचन क्षेत्रीय कमिटीलाई दिएको निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने कतिपय क्षेत्रबाट भने सिफारिस गर्न बाँकी छ।
केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन्। एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ। कतिपय क्षेत्रबाट भने एक जनाको नाममात्र सिफारिस गरिएको छ। माथिल्लो कमिटीमा पठाउन निर्देशन दिएका केही निर्वाचन क्षेत्रले एकल उम्मेदवार पठाएका हुन्।
क्षेत्रीय कमिटीले सिफारिस गरेका उम्मेदवारहरु जिल्ला कमिटी र प्रदेश कमिटीले रायसहित केन्द्रमा पठाउनुपर्नेछ। सिफारिस नामहरु क्षेत्र र जिल्ला हुँदै २०८२ पुस २४ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ।अन्तिममा पार्टी सचिवालय बैठकले अनुमोदन गर्नेछ।
फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।
अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। पुस १९ गते शनिबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको थियो। झापा ५ ओलीको गृहक्षेत्र हो। ओली २०७९ र २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यस्तै, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएको छ। पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलको नाम एकल रूपमा सिफारिस क्षेत्रीय कमिटीले जनाएको छ । पौडेल २०७०, २०७४ र २०७९ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ। उपाध्यक्ष पौडेललाई पाल्पा १ बाट उम्मेद्वारका लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।

यसैगरी, प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ। पुस २० गते आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिनुभयो। यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो।

नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न उपमहासचिव लेखराज भट्टको एकल नाम सिफारिस गरेको छ। शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले एमाले उपमहासचिव भट्टको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
उपमहासचिव भट्ट विगतदेखि नै सोही क्षेत्रबाट निर्वाचन लड्दै आउनुभएको छ।
नेकपा एमाले गुल्मीको दुई वटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा नेता प्रदीप ज्ञवालीको एकल नाम सिफारिस गरेको छ। यसैगरी रूपन्देही–५ बाट खिमलाल भट्टराईकाे नाम एकल सिफारिस गरेको छ।
बागमतीअन्तर्गत् नुवाकोट–१ मा बद्रि मैनाली र २ मा केशव पाण्डे एकल सिफारिस भएका छन्। काठमाडौं–२ मा मणिराम फुयाल प्रस्तावित भएका छन्।
मधेसअन्तर्गत् रौतहट–१ बाट अजय गुप्ता, सिराहा–३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी एकल सिफारिस भएका छन्।
इलाम–२ बाट सुहाङ नेम्वाङको नाम एकल सिफारिस गरेको छ।
अहिलेसम्म यी हुन् एकल सिफारिस भएका उम्मेदवार
कोशी
१. केपी शर्मा ओली, झापा-५
२. सुहाङ नेम्वाङ, इलाम-२
मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा-३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी-१
३. हरि उप्रेती, सर्लाही-३
४. अजय गुप्ता, रौतहट-१
बागमती
१. बद्री मैनाली, नुवाकोट-१
२. मणिराम फुयाल, काठमाडौं-२ (प्रस्ताव)
गण्डकी
१. तिलक महत, नवलपुर-२
२. मिलन गुरुङ, गोरखा-२
लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी-१
२. सूर्य ढकाल, बाँके-१
३. दलबहादुर सुनार, बाँके-३
४. विश्राम चौधरी, कपिलवस्तु-१
५. विष्णु पौडेल, रुपन्देही-२
६. खिमलाल भट्टराई
७. शंकर पोखरेल, दाङ-२
कर्णाली
१. ध्रुव शाही, सुर्खेत-१
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान
सुदूरपश्चिम
१. लेखराज भट्ट, कैलाली-४





प्रतिक्रिया