विराटनगर–कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थाल्नुभएको हाे।
मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन्। सरकारमा कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्दै आएका सबैजसो मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने गरी तयारी भएको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनभित्र नयाँ मन्त्रीको शपथ हुनेछ।
एमाले स्रोतका अनुसार बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्दै छन्।
नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको छ। कांग्रेसबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी, प्रदिप सुनुवार मन्त्री बन्दै छन् ।
वर्तमान सरकारमा नेकपा एमालेबाट राम राना (आर्थिक मामिला), पाँचकर्ण राई (सामाजिक विकास), रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन) र एकराज खनाल (खानेपानी, सिँचाइ तथा ऊर्जा) मन्त्रीका रूपमा कार्यरत छन् ।
नेपाली कांग्रेसबाट भूपेन्द्र राई (भौतिक पूर्वाधार विकास र स्वास्थ्य), खगेनसिंह हाङ्गाम (कृषि) र सदानन्द मण्डल (पर्यटन, वन तथा वातावरण) मन्त्री रहेका छन् ।





प्रतिक्रिया