काठमाडौं-आईसीसी टी-२० विश्वकपको ट्रफी नेपालमा सार्वजनिक गरिएको छ। पुस २१ गते साेमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा ट्रफी सार्वजनिक गर्नुभएकाे हाे ।
ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल आइपुगेको हो। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल र क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी हुनुहुन्थ्याे।
ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभयाे। यो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको राष्ट्रपति पौडेलको भनाइ थियो।
राष्ट्रपति पौडेलले भन्नुभयाे, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ।’





प्रतिक्रिया