काठमाडौं – देशका केही भूभागमा आज बदली हुने भएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैबाट तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहने बताएको छ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यसैबीच, बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
मंगलबार हिजो बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो । यो काठमाडौंको वर्षकै न्यून तापक्रम हो ।
हिजो बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । बिहान पौने ६ भन्दा पौने ९ बजेको तापक्रम कम हुन्छ । विभागले पौने ९ बजेको तापक्रमलाई आधिकारिक मानेर रेकर्डमा राख्दै आएको छ ।
जलवायुविज्ञ धर्मराज उप्रेती चिसो थप बड्ने सम्भावना रहेको बताउनुहुुन्छ । “आगामी तीन,चार दिन अहिलेको अधिकतम तापक्रम र न्यूनतम तापक्रममा २ देखि ३ डिग्री सेल्सियसले थप गिरावट हुने संकेत देखिएको छ,” उप्रेती भन्नुहुन्छ, “तराई भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना लम्बिएको छ ।”
सडक तथा हवाई यातायात प्रभावित हुने, खेती तथा दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने समुदाय बढी प्रभावित हुने उनको भनाइ छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।





प्रतिक्रिया