काठमाडौँ-नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको हो ।
राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पनि पठाउने निर्णय गरेको छ। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा स्वकीय उपसचिवको जिम्मेवारीमा रहनुभएकी झापाकी रोशनी मेचेलाई पनि राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ। यसैगरी एमालेले किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगाल, सम्झना देवकोटा, लीला भण्डारी र मीना रखाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेदवारी मनोनयन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो। आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।
आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ।





प्रतिक्रिया