काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्।
विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका हुन्।
उनीहरूले महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
प्रेस विज्ञप्तिमा भनेका छन्, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दर्छौं।’
विशेष महाधिवेशनबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन निर्विकल्प भएको जनाइएको छ। ‘हामीले स्पष्ट रुपमा उल्लेख गरेका थियौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७ (१) अनुसार २०८२ मंसिरभित्रै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए धारा १७ (२) बमोजिम विशेष महाविधेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ,’ उनीहरूले भनेका छन्, ‘यसैबीच पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५आँ महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।’





प्रतिक्रिया