अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको वातावरण बनेको छैन: एमाले अध्यक्ष ओली

चुनावको वातावरण बनेको छैन: एमाले अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल निर्वाचनमा भाग लिने तयारीमा भए पनि निर्वाचनको वातावरण बनिनसकेको बताउनु भएको छ। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। 

अध्यक्ष ओलीले सरकारले आगामी फागनु २१ गते चुनाव हुने भने पनि चुनावी वातावरण नभएको दाबी गर्नुभयो। ‘सरकारले आगामी फागनु २१ गते चुनाव भनेको छ। चुनावी वातावरण बनेको छैन,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘खोसिएका हतियार अझै जम्मा भैसकेका छैनन्। जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन्। अनि कसरी हुन्छ चुनाव?’

विभिन्न प्रकारका घटनाहरू आपराधिक घटना भइरहेको भन्दै अध्यक्ष ओलीले चुनावमा अझ बढी घटना हुन सक्ने बताउनुभयाे।  अध्यक्ष ओलीले भन्नुभयाे, ‘अर्कोतिर जेनजीका नाममा केही अवाञ्छित तत्त्वहरू सक्रिय भइरहेको देखिन्छ। अहिलेको मन्त्रिपरिषद् हुर्नुपर्छ। जेनजी नामका आग्रही, पूर्वाग्रही, प्रतिशोधी मानसिकताका तत्त्वहरू छन्। अनाडी सडक छाप कहाँबाट जेनजीका प्रतिनिधि भए थाहा छैन। देश चलाउने जिम्मा त्यस्ताहरूको हातमा पुगेको छ।’

अध्यक्ष ओलीले ती मानिसहरूमा डेमोक्रेसी फर्काउनुपर्छ भन्ने कुनै चेत नभएको बताउनुभयो। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै हटाउने बाटो संविधानमा भए पनि देशमा आगजनी गरिएको उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले देश जलेपछि आफूले राजीनामा दिएको र अहिलेको सरकार आउनुबाहेक केही नभएको बताउनुभयो। उहाँले वर्तमान सरकारको काम चुनाव गराउने भए पनि राजदूत फिर्तामा लागेको तथा सुरक्षा निकायको मनोबल उठाउने काममा सरकार नलागेकाले चुनाव हुन सक्ने अवस्था नरहेको बताउनुभयो । 

अध्यक्ष ओलीले भत्काएर मात्रै देश नबन्ने बताउनुभयो। हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उहाँले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको बताउनुभयाे ।

यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन । चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने ?’

अध्यक्ष ओलीले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने बताउनुभयाे। ‘भत्काएर मात्रै देश बन्दैन। देश बनाउनुपर्छ। बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन,’ अध्यक्ष ओलीले बताउनुभयो।