काठमाडौँ-नेकपा (एमाले) ले पार्टीको आन्तरिक जीवन र आगामी कार्यदिशा स्पष्ट पार्दै ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन-१’ (सर्कुलर) मातहतका कमिटीमा पठाएको छ।
बुधवार जारी सर्कुलरमा महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्याउने, संगठन विस्तार, युवा परिचालन तथा नेताहरूको कार्य विभाजनसम्बन्धी विस्तृत योजना समेटिएको छ। आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ।
एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनलाई दृष्टिगत गर्दै युवाहरूलाई पार्टीमा जोड्न ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ। यो अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने सह–संयोजकमा समिक बडाल रहेका छन् ।
यस्तै, सातै प्रदेशमा युवा परिचालनका लागि छुट्टै संयोजकहरू तोकिएका छन्, जसमा कोशीमा मनोज ताम्ली, मधेसमा मोविन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरा रहेका छन् ।
यसैगरी पार्टीले आगामी निर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। सर्कुलरमा भनिएको छ, ’जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पङ्क्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ ।’
पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि ‘डिजिटल क्याम्पियन’ लाई वडा तहसम्म लैजाने योजना ३३ पेज लामो सर्कुलरमा विस्तृत रूपमा व्याख्या गरिएको छ ।





प्रतिक्रिया