अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन २१ मा हुने निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनलाई महासचिव पोखरेलको निर्देशन

फागुन २१ मा हुने निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न जनसंगठनलाई महासचिव पोखरेलको निर्देशन


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताउनुभयाे। उहाँले केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन आग्रह समेत गर्नुभएकोा छ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ। पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो।

बैठकमा महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्नुभयाे । ती घटनामा संलग्नहरूको फुटेज सार्वजनिक भइसकेको उल्लेख गर्दै त्यस विषयलाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याउनुभयाे ।

‘ती घटनामा आन्दोलनका स्टेकहोल्डर टीओबी, फ्री तिब्बत मुभमेन्ट तथा बारबरा फाउन्डेसनसम्मको संलग्नताका कुरा बाहिर आएका छन् । ती घटना आकस्मिक वा क्षणिक नभई लामो तयारीका साथ घटाइएको थियो, यो कुरा जनतालाई बुझाउन जरूरी छ’– महासचिव पोखरेलले भन्नुभयाे।

यसैगरी बैठकमा पार्टी सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन हुन निर्देशन दिएका थिए । उहाँले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनसंगठनले जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।

बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनको भूमिकालाई अझ सशक्त बनाउने निष्कर्ष निकालेको छ ।