ललितपुर-नेकपा एमालेका अध्यक्ष केपीले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएकाे छ। शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे।
अध्यक्ष ओलीले मुलुकको आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयाे।
अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने एमाले संविधानको रक्षा र राष्ट्रिय हितका लागि अन्य दलहरूसँग संवाद र समझदारी गर्न तत्पर रहेको स्पष्ट पार्नुभयाे।
देशका सामु उत्पन्न चुनौतीहरू अझै अन्त्य नभएको जिकिर गर्दै ओलीले वर्तमान समयमा लोकतन्त्र र संविधान सङ्कटमा रहेको दाबी गर्नुभयाे। जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको उल्लेख गर्दै उनले समाजमा अराजकता, निषेध र हिंसाको धम्की अझै व्याप्त रहेको उहाँले बताउनुभयाे। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वैदेशिक चलखेलको जोखिम बढेको र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौतीहरू थपिएको उहाँको भनाइ छ।
अध्यक्ष ओलीले समाजमा व्याप्त भ्रम र द्विविधा चिर्नका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच निरन्तर संवाद आवश्यक रहेको औँल्याउनुभयाे।
अध्यक्ष ओलीले पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै ओलीले एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न चाहने भए पनि कतिपय महत्त्वपूर्ण मुद्दाहरूमा मिल्न सक्ने शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयाे। संविधान मिचिएको वर्तमान अवस्थालाई सुधार्न र मुलुकलाई सही दिशामा लैजान सबै जिम्मेवार दलहरू एकजुट हुनुपर्ने उहाँको तर्क छ।
अध्यक्ष ओलीकाे भनाइ जस्ताको तस्तै–
लोकतन्त्र सङ्कटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् ।
मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्योल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी संशोधन गर्नु पर्नेछ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ । हामी त्यसका लागि प्रयास गरिरहेका पनि छौँ । हाम्रो पार्टी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । यसका निम्ति उपरोक्त शक्तिहरूलाई म आज र यस ठाउँबाट पनि आह्वान गर्दछु ।
हाम्रो पार्टी लोकतान्त्रिक निर्वाचनबाट कहिल्यै पन्छिँदैन, कहिल्यै पिठ्यूँ फर्काउँदैन । यस मान्यतालाई हामीले बारम्बार सार्वजनिक गर्दै आएका छौँ । फागुन २१ को प्रस्तावित निर्वाचनको बारेमा हामीले सुरुदेखि नै अविचलित मान्यता राख्दै आएका छौँ– शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सरकारले बनाउनै सकेको छैन ।
निर्वाचनको मूल मर्म भनेकै निर्भयताको वातावरण निर्माण हो । तर भदौ २४ गते भगाइएका कैदीहरू मध्ये ५ हजार भन्दा बढीलाई बाहिरै राखेर, लुटिएका आधुनिक हतियार मध्ये ७ सयभन्दा बढी हतियार र हजारौँ राउन्ड गोली बाहिरै राखेर अनि त्यसै पनि मनोबल खस्किएको सुरक्षा निकायलाई प्रत्यक्ष, परोक्ष कारबाही र अन्य क्रियाकलापबाट अझ बढी मनोबल खस्काउँदै भदौ २४ को विध्वंसमा सङ्लग्न र पछि पनि विभिन्न अपराधकर्ममा लागेकाहरूमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरेर सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?
हामीले सार्वजनिक रूपमा पनि र सरकारका प्रतिनिधिहरूसँगको वार्तामा पनि बारम्बार यो विषय उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चित र निर्भयताको वातावरण बनिसकेको छैन । तर पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा जाने नै छ । त्यसका लागि पार्टी हमेसा तैनाथी र तम्तयार अवस्थामा रहनुपर्छ । केन्द्रीय कमिटीको यो बैठक सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि हमेसा तम्तयार अवस्थामा रहन र यसका लागि आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गर्दछ ।





प्रतिक्रिया