काठमाडौँ-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन केही बेर अघिबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आयोजित महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले बेलुन उडाएर शुरु भएको हो। महाधिवेशनको उद्घाटन सत्र जारी छ। अहिले नेताहरूले आफ्नो भनाइ राखिरहेका छन्।
महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ। उद्घाटन सत्रपछि बन्द सत्र शुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ। यद्यपि, पार्टीको संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा नेतृत्वको) ले यो महाधिवेशनलाई औपचारिक मान्यता दिएको छैन। यसलाई विधानविपरीत भएको जनाएको छ।
महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन्।
त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन्।
केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी सहभागी छन् । त्यस्तै, पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि सहभागी छन् ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहानदेखि नै शुरु भएको छ। आयोजकहरूकाअनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने जनाएको छ।
प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ। यो विशेष महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ।







प्रतिक्रिया