काठमाडौं-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म १७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म १७ सयभन्दा बढी प्रतिनिधिको नाम दर्ता भइसकेको छ।
कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ। नाम दर्ता गराउने क्रम जारी रहेकाले उक्त सङ्ख्या बढ्ने महाधिवेशन आयोजक कमिटीले जनाएको छ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।
२०८२ असोज २९ गते ५४।५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२०) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो।
महाधिवेशनमा कांग्रेसका ७० प्रतिशत बढी प्रतिनिधि सहभागी भएको नेताहरूले बताएका छन्। महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू भने सहभागी भएका छैनन् ।






प्रतिक्रिया