पाकिस्तान-पाकिस्तानको राजधानी इस्लामावादको एक विवाह समारोहमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु भएको छ। इस्लामावादको सेक्टर जी७/२ स्थित एक घरमा विवाह समारोह चलिरहँदा सिलिन्डर विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परी ११ जना घाइते भएका छन्।
उद्धार अधिकारीहरूका अनुसार शक्तिशाली विस्फोटका कारण पूरै घर नै भत्किएको छ। उद्धार टोलीले १९ जनालाई भग्नावशेषबाट निकालेको छ। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ। अस्पतालकी प्रवक्ता डा. अनिजा जलालले धेरै घाइतेलाई आईसीयूमा राखिएको बताएकी छन्।
प्रारम्भिक अनुसन्धानले ग्यास चुहिएर सिलिन्डर विस्फोट भएको देखाएको छ । विस्फोटले नजिकैका अन्य चार घरमा पनि क्षति पुर्याएको छ ।
एजेन्सी






प्रतिक्रिया