काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताउनुभएकाे छ। आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा सबैभन्दा शक्तिशाली महाधिवेशन भएको बताउनुभयाे।
‘कांग्रेसको विधानले भन्छन्- महाधिवेशनभन्दा ठूलो केही छैन,’ महामन्त्री थापाले भन्नुभयाे, ‘महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि।’
महामन्त्री थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताउनुभयाे।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ।’
महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताउनुभयो । ‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,’ उहाँले भन्नुभयो । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया