अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस दोस्रो विशेष महाधिवेशन

विशेष महाधिवेशन चलिरहँदा कार्यवाहक सभापतिले भन्नुभयो: पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्नू

विशेष महाधिवेशन चलिरहँदा कार्यवाहक सभापतिले भन्नुभयो: पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्नू


काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

२०८२ असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२०) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्ने भन्दै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन २०८२ पुस २७ गते आइतबारदेखि सुरू भएको हो। तर महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन्।

यसै सन्दर्भमा, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज  दिउँसो विज्ञप्ति जारी गरी पार्टीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न भन्नुभएको छ।

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न कार्यवाहक सभापति खड्काले आग्रह गर्नुभयो। 

‘नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ। नेपाली कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो इतिहास छ’, विज्ञप्तिमा भनिएको छ। 

नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको भन्दै कांग्रेसको काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको कार्यवाहक सभापति खड्काले बताउनुभयो।

‘पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। 

उहाँले कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुन पनि आग्रह गर्नुभएको छ।

उहाँले राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा कांग्रेसीहरूको काँधमा फेरि ऐतिहासिक जिम्मेवारी आएको बताउनुभएको छ।  

‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ वैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ। तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ,’विज्ञप्तिमा भनिएको छ। 

फागुन २१ गते निर्वाचन तय भएको अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने पनि उहाँले बताउनुभयो।