काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने बताउनुभएको छ।
बागमती प्रदेश सङ्गठन कमिटीले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो।
उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो। ‘हामी धेरै गतिविधि गर्दैछौँ। मुख्य कुरा जनताको घरघरमा पुगेर संवाद गर्नु हो, तर त्यो हामीले अहिलेसम्म गर्न सकेका छैनौँ। त्यो हाम्रो कमजोरी हो’, उहाँले भन्नुभयो, ‘पहिले हामी हरेक व्यक्तिका घरघर पुगेर संवाद गथ्र्यौँ । उनीहरुलाई एमाले बनाउन मेहनत गथ्र्यौँ । तर पछिल्लो समय हामी उम्मेदवारका पछाडि मात्र देखिन थालेका छौँ।’
महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको बताउनुभयो। ‘चुनावी अभियानमा चुक्यौँ भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने छ। त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक छ’, उहाँले भन्नुभयो।
कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो। बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान सुरु गरेको जानकारी दिनुभयो।






प्रतिक्रिया