काठमाडौँ-सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर-२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। घ्याङलेख गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयाे ।
लुटपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ। बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ। मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन्। पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए । उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिनुभयाे । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
वडा अध्यक्ष भ्लोनका अनुसार लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरिएको छ । यद्यपि, हालसम्म कति रकम बरामद भएको हो भन्ने यकिन हुन सकेको छैन । बरामद सवारी साधन र रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ ।






प्रतिक्रिया