काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेता रमेश लेखकले पार्टीभित्र जारी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताउनु भएको छ। जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताउनुभएको हाे।
बुधबार पार्टी कार्यालयमा जारी बैठकमा उहाँले बैठकमा भन्नुभयाे, ‘हामीले धेरै प्रयास गर्यौं, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन।’
यसअघि १५औँ महाधिवेशनको कार्यतालिका ल्याउँदा पनि दुवै महामन्त्रीसँग छलफल गरिएको लेखकको भनाइ थियो। ‘नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशन आफै निष्प्रभावी हुन्छ भनेर महामन्त्रीहरूले नै भन्नू भएको थियो। नियमित महाधिवेशनका लागि प्रयास गरौँ, भएन भने पनि ठीकै छ। निर्वाचनपछि गरौँला भन्नुभयो,’ उहाँले भन्नुभयाे।
कांग्रेसले नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि दुवै महामन्त्रीले विशेष महाधिवेशनका लागि अगाडि बढेको लेखकको भनाइ थियो। ‘पुस १७ मा आएर फेरि विशेष महाधिवेशन गर्ने भनेर अगाडि बढन्नुभयो। पार्टीले निर्णय गरेर विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गर्दा पनि उहाँहरू अगाडि बढ्नुभयो,’ उहाँले भन्नुभयाे।
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन गर्न लागिपर्दा संस्थापन समूह केन्द्रीय समिति बैठकमा बसेको हो।






प्रतिक्रिया