काठमाडौं-नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ। भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले गगन-विश्वलाई कारबाही गरिएको जनाइएको छ।
बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ।
महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ।
विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ।






प्रतिक्रिया