अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय

यस्तो छ गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय


काठमाडौँ-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ। 

बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिनुभयाे । 

बैठकले पार्टी सभापति गगन कुमार थापाकै संयोजकत्वमा ‘घोषणापत्र निर्माण समिति’ गठन गरेको छ। चालिसेले भन्नुभयाे, ‘यो घोषणापत्र केवल घोषणाका लागि नभई एक्सनका लागि भिजन सहितको हुनेछ। कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश बनाउने भन्ने ठोस योजना र कार्यपद्धति यसमा समेटिनेछ।’

यसैगरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गरिएको छ। समितिले देशभर पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने उहाँको भनाइ छ । 

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना अभिलेखहरूलाई विस्थापन गरी नयाँ विवरण अध्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। नेता चालिसेले भन्नुभयाे, ‘उम्मेदवार मनोनयनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने लगायतका कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा पत्राचार र विवरण बुझाइनेछ।’

बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने नेता चालिसेले जानकारी दिए। केन्द्रीय समितिको बैठक लगत्तै नेताहरू विवरण अध्यावधिक गर्न निर्वाचन आयोग तर्फ प्रस्थान गरेका छन्।