अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ ४ गते खुला सभामार्फत एमाले निर्वाचनमा होमिएको सन्देश दिँदैछौँः एमाले सचिव बस्नेत

माघ ४ गते खुला सभामार्फत एमाले निर्वाचनमा होमिएको सन्देश दिँदैछौँः एमाले सचिव बस्नेत


काठमाडौं-नेकपा (एमाले)ले २०८२ माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ। 

पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँमा विशेष प्रदर्शन गर्दै २०८२ फागुन २१ को निर्वाचनमा सहभागी हुने सन्देश दिने जानकारी दिनुभयो।

सचिव बस्नेतले एमालेले कहिल्यै पनि निर्वाचनमा नजाने नबोलेको स्पष्ट पार्दै वर्तमान अवस्थामा निर्वाचनमैत्री वातावरण प्रमुख चुनौती बनेको बताउनुभयो। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीहरू अझै फिर्ता हुन नसकेको उल्लेख गर्दै सचिव बस्नेतले सुरक्षा निकायको मनोबल कमजोर बनेको दाबी गर्नुभयो।

सचिव बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभयो। रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी वकिल कार्यालयको निर्णयले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैँ लागेको पुष्टि भएको उहाँको भनाइ छ।

सचिव बस्नेतले भन्नुभयो, ‘यही माघ ४ गते खुला सभामार्फत नेकपा (एमाले) निर्वाचनमा होमिएको सन्देश दिँदैछौँ। हामीले चुनावमा भाग लिँदैनौँ भनेर कहिल्यै भनेका छैनौँ। अहिले समस्या चुनावको वातावरण नहुनु हो।’

सचिव बस्नेतले प्रहरी, प्रशासन, न्यायालय र सेनाको मनोबल कमजोर बनेको उल्लेख गर्दै अपराध नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउनुभयो।

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सचिव बस्नेतले न्याय प्रणाली नै कमजोर बनाइएको दाबी गर्नुभयो। सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई नागरिक सरकार भन्दै आए पनि व्यवहारमा त्यो देखिन नसकेको उनको आरोप छ। रवि लामिछानेसँगको टसलका कारण कुलमान घिसिङले राजीनामा दिएको र अन्य मन्त्रीहरूको चालचलनमा पनि सुधार नआएको उहाँले बताउनुभयो।

सरकारका मन्त्रीहरूबाट आएका अभिव्यक्तिहरू एमाले र कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले गरिएको उहाँको दाबी छ।

उहाँले कांग्रेस-एमालेजस्ता ठूला दललाई कमजोर बनाउने सरकारका मन्त्रीहरूको गतिविधि उचित नभएको जिकिर गर्दै एमाले चुनावी तयारीमा सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पार्नुभयो।