अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित भएको छ: अध्यक्ष केपी ओली

महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित भएको छ: अध्यक्ष केपी ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता माथि भएको आक्रमण अहिले पनि जारी रहेको उल्लेख गर्दै न्याय र लोकतान्त्रिक अधिकारका लागि संघर्ष आवश्यक रहेको बताउनुभयो।

बिहीबार काठमाडौंमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा प्रकाशित जेलभित्रका सङ्घर्ष पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले जनताले आक्रमणको विरोध गर्दै आफ्नो अधिकार प्राप्त गर्ने बताउनुभयो। ‘आज नेकपा एमाले जनताको प्रतिनिधिका रूपमा उभिएको छ र यसले जनताको अधिकार स्थापित गरेर छाड्नेछ,’ उहाँले स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूले नेपालमा नेपालीको सरकार हुन नदिने उद्देश्य राखेको दाबी गर्दै, एमालेको संघर्षको मुख्य उद्देश्य नेपाली जनताको सरकार स्थापना गर्नु रहेको बताउनुभयाे। उहाँले भन्नुभयो, ‘नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तथा उद्यम क्षेत्रमा आगो लगाउने काम भएको छ।’

अध्यक्ष ओलीले हालको सरकारले जनताको सम्पत्ति लुट्नेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासमा सरकारले सक्रिय भूमिका खेलेको बताउनुभयाे। ‘आज थिति र विधिको शासन छैन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलंकित र लज्जित भएको छ,’ उहाँले भन्नुभयाे । 

ओलीले रवि लामिछानेको संगठीत अपराध मुद्दा फिर्ता लिन लागेका महान्यायाधिवक्तालाई प्रश्न गर्दै, ‘जनताको ठगिएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?’ भन्दै प्रश्न गर्नुभयाे । 

उहाँले एमाले जालसाजीको बाटो होइन, सत्य र न्यायको बाटो हिँड्ने पार्टी भएको र दमनको प्रतिवाद गर्दै सफलता प्राप्त गर्नेमा पार्टी अडिग रहेको दाबी गर्नुभयो। ‘टर्च बालेर खोज्दा पनि एमाले भेटिने छैन भनेर केही मानिस हिँडेका थिए, तर एमाले अजय किल्ला बनेको छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले एमालेमाथि हमला पटक–पटक भइरहेको स्मरण गराउँदै, पार्टीले जब विकास र राष्ट्रिय महत्वका कार्यक्रम अघि बढाउँछ, त्यही बेलामा एमालेमाथि आक्रमण हुने गरेको बताउनुभयाे। उहाँले एमाले सरकारमा हुँदा थुप्रै विकास योजनाहरू सञ्चालन गरिएको र सरकार हटाएपछि कतिपय योजना अलपत्र परेको जानकारी दिनुभयो।

उहाँले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा तत्कालीन पञ्चायती शासकले गोली हानी माघे संक्रान्ति मेला हेर्दै गरेका स्थानीयलाई मारिएको घटनाको पनि स्मरण गराउनुभयो। ती व्यक्तिहरूलाई शासक विरोधी भएको आरोप लगाइएको थियो।