काठमाडौं-नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाउनुभएको छ ।
पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उहाँले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उहाँले स्पष्ट गर्नुभयो ।
‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भन्नुभयाे, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’
उहाँले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताउनुभयाे । पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उहाँको भनाइ थियो ।
खड्काले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयाे, ‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईंले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो। पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो।’
उहाँले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाउनुभयाे।






प्रतिक्रिया