अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता


काठमाडौँ-निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। 

आज बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए। सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए। आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो। 

२०८२ पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। 

त्यसबारे थापासहितको पदाधिकारीको टोलीले बिहीबार आयोगमा निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशनका सबै विवरण बुझाएको थियो। 

त्यस्तै, शुक्रबार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोग पुगेका थिए। उनीहरूले पनि आधिकारिकताको दाबी गर्दै विवरण बुझाएका थिए। 

त्यसपछि शुक्रबार अपराह्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले थापा नेतृत्वको टोलीसँग विशेष महाधिवेशनका विषयमा छलफल गरेको थियो। उनीहरूसँगको छलफलपछि आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।