अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई आगो लगाउनेहरूलाई चुनावबाटै पाखा लगाउनुपर्छ: अध्यक्ष केपी ओली

देशलाई आगो लगाउनेहरूलाई चुनावबाटै पाखा लगाउनुपर्छ: अध्यक्ष केपी ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता फैलाउने र ‘देशलाई आगो लगाउने’ तत्त्वलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएकाे छ।

शुक्रबार एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र रक्षाका लागि यस्ता समूहलाई बेलैमा चिनेर चुनावबाटै किनारा लगाउनुपर्ने बताउनुभएकाे हाे।

अध्यक्ष ओलीले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको दाबी गर्नुभयाे । लोकतन्त्र नै नरहे प्रतिस्पर्धाको अर्थ नहुने भन्दै अध्यक्ष ओलीले अहिलेको मुख्य आवश्यकता लोकतन्त्र बचाउनु भएको बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्रो प्रतिस्पर्धा देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग छँदै छैन। लोकतन्त्र बच्यो भने न प्रतिस्पर्धा गर्ने हो, लोकतन्त्र नै बचेन भने केमा प्रतिस्पर्धा गर्ने ?’

अध्यक्ष ओलीले असंवैधानिक र लोकतन्त्रविरोधी गतिविधि गर्ने तथा देशलाई अस्थिरतातिर धकेल्नेहरूलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले केही तत्त्वहरूले देशमा संविधान, राजनीति, दल र नेताहरू नै नचाहिने भन्दै आतंक मच्चाइरहेको आरोप लगाउनुभयाे। देशलाई नीतिहीन र थितिहीन अवस्थामा पुर्‍याएर अराजकताको राज्य बनाउन खोज्नेहरूलाई चिन्न कार्यकर्तालाई उनले निर्देशन दिनुभयाे ।

अध्यक्ष ओलीले अहिलेको लडाइँ लोकतन्त्र मास्न खोज्ने र देशमा आगो लगाउन खोज्नेविरुद्ध भएको भन्दै लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयाे । संविधान र राजनीति सिध्याउन खोज्ने अराजक तत्त्वहरू नै अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ छ ।