अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै


काठमाडौं- आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले आज उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालेले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ ।

शाहीका अनुसार दुर्गम भेकमा रहेका उम्मेदवारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले आज सचिवालय बैठक बसेर उम्मेदवारी टुंग्याउन लागेको हो । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।