काठमाडौँ-नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैँ संलग्न रहेको आरोप लगाउनुभएकाे छ।
शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिनु कानूनविपरीत भएको दाबी गर्नुभएकाे हाे।
सचिव बस्नेतले उक्त निर्णयलाई कांग्रेस र एमालेमाथिको योजनाबद्ध प्रहारका रूपमा एमालेले लिएको स्पष्ट पार्नुभयाे।
सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानुन विपरीत काम गरेको जिकिर गर्दै त्यसलाई कांग्रेस र एमाले माथिको प्रहारको रूपमा आफ्नो पार्टीले लिएको जिकिर समेत गर्नुभयाे । सचिव बस्नेतले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताउनुभयाे ।
सचिव बस्नेतले भन्नुभयाे, ‘जुन ढङ्गले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्यो, त्यो बेठिक गर्यो भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ। त्यो कुरामा हाम्रो पनि समर्थन छ। कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो। कांग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढङ्गले लागेका छन्। यो निकै गम्भीर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भीरताका साथ हेरेका छौँ।’
सचिव बस्नेतले सरकारको गतिविधि यस्तै ढंगले अगाडि बढे पार्टी सरकारविरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिनुभयाे।






प्रतिक्रिया