अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापका एमाले उम्मेदवार माधव ढुङ्गेलको प्रतिबद्धता: जनमतको इज्जत राख्दै जिम्मेवारीपूर्वक काम गर्नेछु

रामेछापका एमाले उम्मेदवार माधव ढुङ्गेलको प्रतिबद्धता: जनमतको इज्जत राख्दै जिम्मेवारीपूर्वक काम गर्नेछु


काठमाडौं-आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभएका पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले आफ्नो राजनीतिक यात्रा, अनुभव र प्रतिबद्धता सार्वजनिक गर्दै रामेछापेली जनतासँग अमूल्य मत माग्नुभएको छ।

उहाँले आफू १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेको उल्लेख गर्नु भएको छ। ‘मेरा दुःख र संघर्षका कथा नजिकबाट बुझ्नेलाई थाहा छ,’ उहाँले भन्नुभएको छ, ‘म आफ्नै कर्म, सक्रियता र निरन्तरताको बलमा धुलो–मैलोबाट उठेको गाउँको मान्छे हुँ।’

उहाँले आफ्नो उम्मेदवारीबाट कसैलाई दुःखी हुनुपर्ने कारण नरहेको स्पष्ट पार्नुभएको छ। आफू पटक–पटकको उम्मेदवार नभएको र उमेर पनि ‘पाकेको नभइसकेको’ उल्लेख गर्दै उहाँले पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने सेतुका रूपमा भूमिका खेल्न सक्ने दाबी गर्नुभएको छ। ‘म अनुभवले खारिएको छु, मेरो पार्टी र मुलुकले पत्याए जुनसुकै जिम्मेवारी बहन गर्न सक्छु,’ उहाँले भन्नुभयो ।

नेता ढुङ्गेलले रामेछापेली जनतामाझ पार्टीले पहिलो पटक आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित समग्र नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै, उम्मेदवार सिफारिसमा परेका अन्य नेताहरूलाई धैर्य गर्न आग्रह गर्दै ‘अवसर अरू पनि आउँछन्, मिलेरै अघि बढ्नुपर्छ’ भन्ने सन्देश दिनुभएको छ ।

रामेछापेली जनताको मतको इज्जत राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको अमूल्य मत माग्नुभएको छ। ‘तपाईँको मतको इज्जत राख्दै जिम्मेवारीपूर्वक काम गर्नेछु,’ उहाँको भनाइ छ ।