अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नव युवाले केपी ओलीलाई बुझ्नै पर्छ

नव युवाले केपी ओलीलाई बुझ्नै पर्छ


बिपीपी, झापा

यथार्थ बुझ्न भावनामा होइन, तथ्यमा उभिनुपर्छ। राज्य सञ्चालन, आन्दोलन, सुरक्षा व्यवस्था र भीड नियन्त्रणका विषयलाई व्यक्तिगत घृणा वा राजनीतिक आग्रह–पूर्वाग्रहबाट हेर्ने हो भने सत्य धुमिल हुन्छ। नव युवाको मृत्यु पीडादायी घटना हो । त्यसमा कुनै पनि संवेदनशील नागरिकको आँखा रसाउँछ। तर प्रश्न यो हो- त्यो मृत्युको प्रत्यक्ष जिम्मेवार को हो ?

हत्यारा त्यो हो, जसले नाबालक र नव युवालाई उक्सायो । जसले उनीहरूलाई सडकमा ढाल बनाएर अघि सारे । जसले “आगो लगाऊ”, “सरकारी भवन जलाऊ”, “संविधान, संसद्, सिंहदरबारलाई निशाना बनाऊ” भनेर भीड भड्कायो । जसले क्रान्तिको नाममा अराजकता फैलायो र युवाको भविष्यलाई प्रयोग गर्‍यो । गोली चल्नु दुखद हो, तर त्यो अवस्था सिर्जना कसले गर्‍यो भन्ने प्रश्न अझ गम्भीर छ ।
केपी ओली सरकारको नेतृत्वमा थिए । सरकारको कर्तव्य शान्ति सुरक्षा कायम गर्नु हो । जब राज्यका संरचना जलाउने, अस्पताल, सरकारी कार्यालय, सञ्चार गृहमा आक्रमण गर्ने प्रयास हुन्छ, तब सुरक्षा निकाय निष्क्रिय बस्न सक्दैन । त्यो निर्णय कुनै एक व्यक्तिको आवेग होइन, राज्य संयन्त्रको प्रतिक्रिया हो । त्यसलाई “एक व्यक्तिले गोली हाने” भनेर सरलीकरण गर्नु सत्यको हत्या हो ।
नव युवाको हत्यारा त्यो शक्ति हो, जसले भावनात्मक नारा बेचेर युवालाई सडकमा झार्‍यो । जसले विदेशी स्वार्थका लागि देशलाई अस्थिर बनाउने योजना बनायो । जसले लोकतन्त्रको नाममा अराजकता मच्चायो । जसले जेएनजी ९जनआन्दोलन० जस्तो पवित्र शब्दलाई हाइज्याक गरेर हिंसाको आवरण बनायो । ती हाइज्याकरहरू नै वास्तविक अपराधी हुन् ।
इतिहास साक्षी छ—केपी ओलीले युवालाई बन्दुक उठाउन उक्साउनु भएको छैन । उहाँले संविधान, राष्ट्रियता, स्वाधिनता र विकासको कुरा गरिरहनु भएको छ। ओलीसँग असहमत हुन सकिन्छ । आलोचना गर्न सकिन्छ । तर असहमतिलाई ‘हत्या’ अभियोगमा बदल्नु बौद्धिक बेइमानी हो ।
देश जलाएर राजनीति गर्नेहरूलाई नायक बनाउने र राज्य जोगाउन खोज्नेहरूलाई ‘हत्यारा’ करार गर्ने प्रवृत्ति खतरनाक छ । यसले भावी पुस्तालाई गलत सन्देश दिन्छ—कि हिंसा नै राजनीति हो ? भन्ने भाष्य निर्माण गर्छ । यसको सिधा प्रश्न हुन्छ के भीड उक्साउनु नै नेतृत्व हो ? वास्तविक नेतृत्व भनेको भीडलाई शान्ति, संवाद र विधिको बाटोमा डोर्‍याउनु हो ।
यसर्थ, नव युवाको मृत्युमा आँसु बगाऔँ, तर दोषी चिन्ने आँखालाई नछोपौं । भावनामा बगेर होइन, यथार्थमा उभिएर हेर्नुपर्छ । नव युवाको हत्यारा केपी ओली होइनन् । हत्यारा ती हुन्, जसले युवाको रगतलाई सत्ताको सिँढी बनाउन खोजे—लुसिफर जस्तै अनुहार बदल्दै, देश र भविष्य दुवैलाई जलाउन उद्धत बने ।