काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लम्जुङबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ उम्मेद्वार हुनुभएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा २०८२ माघ ३ गते शनिबार बसेको सचिवालय बैठकले गुरुङको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।
नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा उपाध्यक्ष गुरुङ एक हुन् । गुरुङ २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बन्नुभएको थियो । २०४८ मा मालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । त्यसैगरी २०५१ र २०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएर गुरुङ गण्डकीको संस्थापक मुख्यमन्त्री बन्नुभयो । मुख्यमन्त्री बनेपछि गुरुङ २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाे समयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको थियो।
नेकपा एमाले जिल्ला कमिटी लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित जमिन्द्रमान घले, प्रदेश सचिव धनञ्जय दवाडी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीलाई सिफारिस गरेको थियो।
पृथ्वीसुब्बा गुरुङका विगत
अमृत साइन्स क्याम्पसमा २०३४ मा बीएसी सकेर आफ्नै गाउँ हाल क्व्होलासोंथर गाउँपालिका-९, गिलुङमा रहेको हालको बुद्धोदय माविमा गुरुङप्रधानाध्यापक बन्नुभएको थियो। ७ वर्ष प्रधानाध्यापकमा रहँदै गर्दा राजीनामा दिएर २०४३ मै जनपीक्षय उम्मेदवार बन्नुभयो । ‘एक बाम–एक ठाम’ नारा दिएर चुनाव लड्दा राष्ट्रिय पञ्चायत सदस्यमा लेखनाथ अधिकारी विजयी भए । त्यतिबेला भूगोलविद् डा. हर्क गुरुङ, पृथ्वीसुब्बा गुरुङलगायत पराजित बने । उहाँ २०४३ यता एमाले लमजुङ क्षेत्र नं. २ (हाल प्रदेश ख) मा हरेक चुनावका एक्ला उम्मेदवार थिए ।
२०४२ असार ७ गते पक्राउ परी १०० दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐन अन्तर्गत लमजुङ काराबासमा बसेका थिए । काराबासमा रहेर नै रापस जनपक्षीय उम्मेदवार भै भण्डारफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरेका थिए ।
२०२७ मा ईशानेश्वरस्थित प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएदेखि गुरुङ राजनीतिमा लाग्नुभएको हो । २०४१ सालमा घरबारविहीनलाई घर बनाइदिने कार्यको वैचारिक नेतृत्व गुरुङले गर्नुभएको हो। पञ्चायविरुद्ध लाग्दा तीन महिना बढी गुरुङले कारावास भोगेका छन् । पार्टीमा विभिन्न भूमिका रहेका गुरुङ पहिलो संविधानसभामा (२०६५–२०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य र व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सदस्य भएर काम गरिसक्नुभएको छ। शान्ति स्थापनापछिको विधायिका सांसद हुँदा गुरुङ पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो। गुरुङले करीब १८ महिनामन्त्री चलाउनुभएको थियो।






प्रतिक्रिया