अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा निर्वाचन-२०८२

दोलखाली जनताको दुःख-सुखमा सधैँ साथ दिने विकासमुखी नेता पार्वत गुरुङ चुनावी मैदानमा

दोलखाली जनताको दुःख-सुखमा सधैँ साथ दिने विकासमुखी नेता पार्वत गुरुङ चुनावी मैदानमा


दोलखा–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले)ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनःचुनावी मैदानमा उतारेको छ। दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आउनुभएका नेता गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ।

पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो। स्थानीय समस्यालाई केन्द्रसम्म पुर्‍याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उहाँको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

दोलखाको उत्तरी भेग गौरीशंकर गाउँपालिका–२, सुरीमा वि.सं.२०२५ सालमा जन्मिनुभएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम आन्दोलनमा सक्रिय हुनुभएको हो। जिल्ला तहमा संगठन निर्माण गर्दै एमाले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका उहाँ पार्टी पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज हुँदै केन्द्रीय नेतृत्वमा पुग्नुभएको छ। हाल उहाँ पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारीमा हुनुहुन्छ।

शैक्षिक रूपमा स्नातक तहसम्म अध्ययन गर्नुभएका गुरुङ २०७० सालमा दोलखा–१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले ऐतिहासिक मतान्तरका साथ विजय हासिल गर्नुभएको थियो ।

उक्त निर्वाचनमा गुरुङले ५५ हजार ४५७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८३१ मत मात्र प्राप्त गर्नुभएको थियो। यो मतान्तरलाई दोलखामा एमालेको बलियो जनाधारको स्पष्ट सङ्केतका रूपमा लिइन्छ। तथापि, त्यति बेला एमालेको तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन थियो ।

संघीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएका गुरुङले नीति निर्माणदेखि सेवा प्रवाहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीभित्र र बाहिर सकारात्मक मूल्याङ्कन हुने गरेको छ। विशेष गरी सञ्चार र सूचना प्रविधिको विस्तार तथा सामाजिक क्षेत्रका नीतिगत सुधारमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।

यस पटकको निर्वाचनमा एमालेले स्थिरता, विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ। दोलखाको सडक, विद्युत्, सञ्चार, पर्यटन र रोजगारीका सवाललाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिसहित गुरुङ चुनावी मैदानमा होमिनुभएको छ। स्थानीय तहदेखि संघीय तहसम्मको अनुभव भएकाले उहाँ दोलखाको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सक्षम नेता भएको एमालेको दाबी छ।

पार्टी नेतृत्वले समेत गुरुङलाई दोलखामा एमालेको जित सुनिश्चित गर्ने ‘विश्वसनीय उम्मेदवार’का रूपमा अघि सारेको छ। अघिल्ला निर्वाचनका परिणाम, संगठनमाथिको पकड र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण यस पटक पनि उहाँको जितले दोलखामा विकासको गतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा पार्वत गुरुङको उम्मेदवारीलाई दोलखामा एमालेको स्थिर राजनीति र दीर्घकालीन विकासको निरन्तरतासँग जोडेर हेरिएको छ। यही कारण, यस निर्वाचनलाई दोलखाली जनताले ‘अनुभव र परीक्षण भइसकेको नेतृत्व’ र ‘नयाँ चुनौतीबिचको राजनीतिक निर्णय’का रूपमा मूल्याङ्कन गर्न थालेका छन्।