काठमाडौँ-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ।
निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उहाँले बताउनुभयो ।
आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।






प्रतिक्रिया