दाङ-नेकपा (एमाले) ले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ।
हिजो बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई प्रदान गरेको थियो। सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेसँगै क्षेत्रभर देखिएको अन्योल समाप्त भएको छ।
यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा को उम्मेदवार हुने ? भन्ने विषयमा चौतर्फी चासो व्यक्त हुँदै आएको थियो। अब भने उम्मेदवारी टुङ्गिएसँगै निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ।
२०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पोखरेल त्यसयता यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रअन्तर्गत प्रदेश सभा १ बाट विजयी भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
जिल्लाको विकास र समृद्धिका ‘रोल मोडेल’ का रूपमा लिइने पोखरेलले पूर्वाधार, सेवा प्रवाह र समन्वयमा सक्रिय भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । पाेखरेल उम्मेदवार बन्ने खबरसँगै दाङका नागरिकहरू उत्साहित देखिएका छन् ।






प्रतिक्रिया