काठमाडौं-नेपाली कांग्रेसमा सक्रिय रहेका सुनसरीका युवा नेता अबुल हुसैन अनसारी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ। कांग्रेसभित्रको आन्तरिक किचलो, स्वार्थ केन्द्रित राजनीति र योगदानको उचित मूल्यांकन नहुँदा आफू निराश बनेको उल्लेख गर्दै एमालेमा प्रवेश गरेकाे बताउनुभयाे ।
नेता हुसैनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो।
सोमबार फेसबुकमा लेख्दै अनसारीले आफ्नो जीवनको ऊर्जाशील समय कांग्रेसमै खर्चिएको स्मरण गराउनुभएको छ । राजनीतिका थुप्रै उकाली–ओराली कांग्रेसमै रहेर पार गरे पनि पछिल्लो समय पार्टी लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्तबाट टाढिँदै गएको अनुभूति आफूलाई भएको उहाँको भनाइ छ ।
‘पछिल्लो पटक कांग्रेसभित्रको किचलो र स्वार्थ केन्द्रित राजनीतिले मलाई विछिप्त तुल्याएको छ,’अनसारीले लेख्नुभएको छ, ‘हामीले सुनसरीमा सधैं आगन्तुकहरूलाई नेता मान्यौँ। पार्टीमा हाम्रो योगदानको कहिले उचित मूल्यांकन भएन। त्यो कुराले मेरो मन सधैं विझाइरहन्छ।’ यही कारणले ठूलो दुःख र भारी मनका साथ कांग्रेस त्यागेको घोषणा गर्दै उहाँले यसपटकको निर्वाचनमा एमालेबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ।
एमालेले आफूलाई सम्मानका साथ पार्टी प्रवेश गराई विश्वास गरेको भन्दै अनसारीले पार्टी र जनताको भरोसालाई कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

‘नेकपा (एमाले)ले मलाई सम्मान गर्दै पार्टी प्रवेश गराएर विश्वासका साथ सुनसरी–४ का लागि योग्य ठानेको छ। त्यसैले म एमालेको मप्रतिको भरोसा र जनताको मप्रतिको आशा कहिले मर्न दिने छैन। सधैं एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न तल्लीन रहनेछु ।’ उहाँले लेख्नुभएको छ।
उनले एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न सधैं तल्लीन रहने उल्लेख गर्दै “अन्तिम पटक जय नेपाल ! लाल सलाम !” समेत लेखेका छन् ।






प्रतिक्रिया