अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश जोगाउन र विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको हुँ: एमाले अध्यक्ष ओली

देश जोगाउन र विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको हुँ: एमाले अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घर भत्काएर मात्रै देश नबन्ने बताउनुभएको छ। 

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयनका लागि पहिलो पटक आफ्नो गृहजिल्ला आउनुभएको झापाको दमकमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको बताउनुभयो। उहाँले झापा ५ को फैसला जनताले गर्ने बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु।’

अध्यक्ष ओलीले एमालेले आसन्न निर्वाचनका लागि टिकट वितरण पारदर्शी रूपमा गरेको दाबी पनि गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘पार्टीले तौलिएर नै टिकट वितरण गरेको छ। पार्टीले तौलिँदा ताल त पुग्नु पर्‍यो नि।’

अध्यक्ष ओलीले एमालेमा टिकट वितरणका विषयमा केही समस्या नभएको बताउनुभयाे । उहाँले कोही मानिस अराजक भएर पनि आउन सक्ने पनि बताउनुभयाे।

अध्यक्ष ओलीले केही भन्ने ठाउँ नपाएर मानिसहरूले आत्तिएर आफूलाई भिलेन करार गर्न खोजेका दाबी गर्नुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामीले गरेको विकासबाट आत्तिएर केही मानिसहरू हामीलाई भिलेन करार गर्न लागेका छन्। यो सम्भव छैन।’

अध्यक्ष ओलीले केही भएन भनेर निराश बन्न नहुने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे,‘ अहिले अकबरे खोर्सानी बेच्नेले पनि करोडौँ कमाएको छ । सब्जी खेती गर्नेले मात्रै लाखौँ कमाउँछ। घिरौँला रोप्यो भने फल्छ । रोप्यो भने न फल्छ । त्यो भाले पालेकाले नि कराएको हो । पाल्न त पर्‍यो नि ।’